Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नालापानी’ लाई सहयोग गर्ने सञ्चार मन्त्री गुरुङको आश्वासन

फिल्मीखबर, काठमाण्डौ, 2020/11/28
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन फिल्म सम्बन्धित संघ संस्थाहरुले सरकारसँग सिफारिस गरेका छन् ।
 
चलचित्र विकास बोर्डले एक पत्रमार्फत् फिल्मले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका कारण ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रचार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । 
 
त्यस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभुति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले फिल्मलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । फिल्मले उठान गरेको विषयवस्तुले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउने पनि पाँच संस्थाको पत्रमा उल्लेख छ ।
 
 
फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रवार चलचित्र विकास बोर्डसहित ६ वटा संस्थाले गरेको सिफारिस पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई बुझाएका छन् । राष्ट्रिय गौरवको कथामा फिल्म निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आवश्वास दिएका छन् । यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । 
 
सिनेमा हल खुलेपछि प्रदर्शनमा आउने फिल्मको टिजर सार्वजनिक भइसकेको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले सहकार्य गरेका छन् । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने रोशन श्रेष्ठको द्वन्द्व, रामशरण उप्रेतीको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ ।
 
बसन्त खत्री मगर र अचुत गजुरेलको भिएफएक्स रहेको फिल्ममा  घनेन्द्र थपलिया कार्यकारी निर्माताको रुपमा रहेका छन् भने सह-निर्मातामा पुजना प्रधान र गणेश कार्की छन् । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ ।
 
प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकहरुमा आधारित भएर फिल्म निर्माण भएको हो ।
Most Visited News (monthly)