Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मैले चाहेर ब्रेक लिएको होइन : आर्यन सिग्देल

फिल्मीखबर, काठमाण्डौ, 2020/11/25
एक समय अभिनेता आर्यन सिग्देलको नेपाली फिल्ममा ठूलो दबदबा थियो । लभस्टोरी फिल्ममा पहिलो रोजाई नै उनी हुन्थे । उनको लुक्स नै फिल्म चल्ने आधार मानिन्थ्यो । अभिनयमा पनि अब्बल भएकाले उनले एक दशक करिअर फर्केर हेर्नु परेन । तर, समय सधैं एकनाश रहँदैन । एकै खालका फिल्म र अभिनयमा विविधता पस्कन नसक्दा उनको स्टारडम कमजोर बनेको छ । 
 
केही वर्ष अगाडि उनी अभिनीत फिल्म हप्ता दिनको अन्तरमा रिलिज हुन्थे । आर्यन स्वयंलाई पनि आफू अभिनीत फिल्म हलमा लागेको र उत्रिएको थाहा हुँदैन थियो । कतिपयले उनी पैसामुखी भएको आरोप लगाए । तर, आर्यनले भने साथी भाईले गरेको प्रस्ताव नकार्न नसकेर फिल्म छनौटमा गम्भीर नभएको बताउने गरेका छन् । अब भने उनी हतारमा फिल्म गर्ने पक्षमा छैनन् । 
 
 
गत वर्ष उनी अभिनीत ‘हजार जुनीसम्म र चच हुईं’ प्रदर्शनमा आएका थिए । यी दुई फिल्मप्रति उनको ठूलो आश थियो । तर, दुवै फिल्मले उनलाई हिटको सुख दिन सकेनन् । ‘चच हुईं’ रिलिजको एक वर्षपछि उनी नयाँ फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्ध भएका छन् । आउँदो माघबाट छायांकनमा जाने फिल्ममा आर्यनले आफूभन्दा निकै कम उमेरकी युवतीसँग रोमान्स गर्नेछन् ।
 
‘चच हुईं’ पछि एक वर्ष फिल्ममा काम नगर्नुको कारण आफू नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘बीचमा छेतन गुरुङ दाईको एउटा फिल्ममा काम गर्ने तयारीमा थिए । तर, छेतन दाईको निधन भएपछि त्यो प्रोजेक्ट रोकियो । एक वर्षको ब्रेक मैले चाहेर लिएको होइन, परिस्थितिले हो ।’ दर्शकले आफूलाई लभर ब्वाईको भूमिकामा मात्र रुचाउनुलाई उनी मायाको रुपमा लिन्छन् ।
 
चकलेटी भूमिकाबाट बाहिर निस्कन नसकेको आरोपबारे उनी भन्छन्, ‘मैले यसलाई आरोपभन्दा पनि मायाको रुपमा लिएको छु । मलाई दर्शकले लभर ब्वाईकै रुपमा रुचाउनुभएको छ । बीचमा मैले अन्य जनराका फिल्ममा भिन्न भूमिका पनि निर्वाह गरेको थिएँ । तर, ती फिल्मले सफलता पाएनन् । यसैले दर्शकले मलाई जुन चिजमा रुचाउनुभएको छ त्यसलाई नै निरन्तरता दिएको हुँ ।’
Most Visited News (monthly)