.jpg)
कोरोना महामारीभन्दा अगाडि नेपालको यूट्युब ट्रेन्डिङ साउथ फिल्मको कब्जामा हुन्थ्यो । यूट्युब ट्रेन्डिङमा साउथ फिल्मलाई जित्न मल्टीस्टारर नेपाली फिल्मलाई समेत हम्मेहम्मे पर्ने गरेको थियो । लकडाउनयता भने हिन्दी भाषामा डब भएका साउथ फिल्म यूट्युबमा खासै रिलिज भएका छैनन् । जसले गर्दा यूट्युब ट्रेन्डिङको शीर्ष स्थान कब्जा गर्न नेपाली फिल्मलाई सहज भएको छ ।
दशैंदेखि नेपालको यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा नेपाली फिल्मको रजाई छ । दुई हप्ता यूट्युब ट्रेन्डिङको पहिलो नम्बर कब्जा गरेर बसेको अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ लाई उछिन्दै विपिन कार्की अभिनीत फिल्म ‘प्रसाद’ शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै, एक हप्ता अगाडि सार्वजनिक भएको फिल्म ‘साइँली’ पनि अहिले यूट्युब ट्रेन्डिङको चौथौ स्थानमा छ ।
गायक हेमन्त रानाको ‘सुन साइँली’ गीतको नाम सापटी लिएर निर्माण भएको फिल्मले बक्सअफिसमा औसत व्यापार गरेको थियो । माटो सुहाउँदो फिल्म बनाउन सिपालु मानिने रामबाबु गुरुङ निर्देशित फिल्मलाई समीक्षक र दर्शकले मिश्रित प्रतिक्रिया दिएका थिए । यूट्युबमा भने दर्शकले फिल्म निकै रुचाएका छन् । प्रायः दर्शकले अर्गानिक फिल्म भन्दै प्रशंसाको पुल बाँधेका छन् ।
एक हप्तामा ४० लाखको आसपास भ्यूज मिलेको फिल्मलाई ७ हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्समा फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसामा शब्द कोरिएका छन् । केही दर्शकले ‘साइँली २’ को समेत माग गरेका छन् । रोजगारीका लागि विदेशिन बाध्य महिलाहरुको कथा फिल्मले वाचन गरेको छ । फिल्मको केन्द्रिय भूमिकामा मेनुका प्रधान छिन् ।
हेमन्त राना र गौरव पहारीले निर्माण गरेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंह, दयाहाङ राई, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको अभिनय रहेको छ । फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्मको कथा निर्देशक गुरुङको हो ।
भिडियो :-

