
‘टम एन्ड जेरी’ कार्टून मनपर्ने दर्शकका लागि खुसीको खबर आएको छ । एक पटक फेरि यो कार्टुन हेर्न पाइने भएको छ । ९० को दशकमा ‘टम एन्ड जेरी’ हरेक बच्चनको फेभरेट थियो । अब यो कार्टुन टिभीमा नभइ ठूलो पर्दामा आउने तयारीमा छ । यसलाई फिल्मको शैलीमा निर्माण गरेर सिनेमा हलमा प्रदर्शन गरिँदैछ । अहिले सोसल मिडियामा फिल्मको ट्रेलर भाइरल भएको छ ।
ट्रेलरलाई दर्शकहरुले निकै मन पराएका छन् । टिम स्टोरीको निर्देशनमा बनेको एनिमेटेड कमेडी फिल्म ‘टम एन्ड जेरी’ ५ मार्च २०२१ मा सिनेमा घरमा प्रदर्शन हुँदैछ । २९ वर्षपछि दर्शकले टम र जेरीको लडाई र नोकझोकलाई ठूलो पर्दामा हेर्न पाउनेछन् । यसअघि सन् १९९२ मा ‘टम एन्ड जेरी : द मुभी’ शीर्षकमा निर्माण भएको फिल्म सिनेमा हलमा प्रदर्शन भएको थियो ।
‘टम एन्ड जेरी’ मा टम बिरालो हो भने जेरी मुसाको नाम हो । मेट्र गोल्डविन मेयर स्टुडियो र हन्ना बारबेरा स्टुडियोले निर्माण गरेको यो शृङ्खलाका मुख्य संस्थापक विलियम हन्ना र जोसेफ बार्बरा हुन् । ‘टम एन्ड जेरी’ शृङ्खलाका लगभग सबै भागहरूमा टमले जेरीलाई समात्न गरेको घातक प्रयासलाई चित्रित गरिएको छ । यो कार्टुनले सातवटा एकेडेमी पुरस्कार समेत जितेको थियो ।

