मिति : २०७० आषाढ ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

गौरीका कविता

आजको आधुनिक अनि आफुलाई सभ्य ठान्ने सामाजिक प्राणीहरुले छोरा र छोरी बिचको भेदभावलाई एउटा मानसिक रोगको रुपमा समाजमा व्याप्त बनाइसकेको छ । मलाई अत्ति दुखः लाग्छ जब म यस्ता पीडादायक मार्मिक घटनाहरु आजको समाजमा पाउने गर्छु । मेरो आजको यो कविता ती सबै बालिकाहरुको लागि जसले यस धर्तीमा आउने प्रयास त गरे तर यो सुन्दर संसारलाई भोग्ने सौभाग्य पाउन सकेनन् त्यो पनि सिर्फ अनि सिर्फ उनीहरुकै आफ्नै माता पिताको छोरा र छोरी बिचको भेदभावका कारण । र, मेरो कविता ती बालिकाहरुको लागि जो यस संसार मा आउन उत्सुक छन्, तैयारी गरिरहेका छन् । भगवानले उनीहरुको रक्षा गरुन् !



 खुशी थिएँ म त्यस प्राचिरभित्र
 ठान्थें राजकुमारी आफुलाई ,
 मस्त तैरिन्थें जलावर्तमा ..
 त्येही नै थियो
 मेरो साम्राज्य पनि…,

 म टेक्न चाहन्थें यो धर्ती
 टाँसिन चाहन्थें आमाको छातीमा ,
 ब्यग्र थिएँ नयाँ नाता बुन्न
 ब्याकुल थिएं स्नेहको माला उन्न ..,
 मेरो ब्याकुलतामा तुषारापात लाग्यो ,
 एक पैचाशिक 'छोरी पो रहेछ ... '
 को आवाजले मेरो अस्मिताको
 भित्ता फोरेर भाग्यो ...,
 बस् , के थियो...
 त्येही मेरो पहिचान बन्यो ,
 अनि पहिचानसंगै
 मेरो अस्तित्व पनि बुत बन्यो ...,

 जान्न चाहन्थें म ..
 म किन तिमीहरुको लागि
 अपरिचित भए ..?
 किन तिमीहरुको नजरको
 कसिंगर भएँ ..?
 तितली झैँ पंख फिजाई
 उड्नु मलाई पनि थियो ..
 तरुललता बिच झुल्नु
 मलाई पनि थियो ...
 यो बिशाल बगियानको
 म पनि केहि धुल हुँ ...
 इश्वरको सुन्दर बागको
 म पनि एक फूल हुँ ..
 तर आधुनिक मानव सत्ताधारी
 मेरो मनोबेदना सम्म पुग्न सकेन ...
 येही भविष्यको आविस्कारक पनि हो ,
 तिनीहरुले बुझ्नै सकेन ...!

 जन्माउनु को मात्र पीडा हुने
 जन्मिनुको चाहिं कसले बुझ्ने ...?
 तेसैले होला जन्मिँदा नजन्मिंदै
 प्लास्टिकको थैलो भित्र
 कैद हुन्छु गरिइन्छु ...
 सकिनसकी मसिना हातखुट्टा ,
 चल्मलाइरहेकी हुन्छु ...
 जीवन र मृत्यु बिचको संघर्षमा,
 कहिले हिलोमा बजारिन्छु
 कहिले आफ्नै सालनाल सितै जेलिन्छु ....

 तथापी ....
 मेरो कोशिश जारी छ !
 मेरो युद्ध , मात्र युद्ध नभई
 एउटा प्रश्नचिन्ह हो ..
 इतिहास वर्तमान अनि
 भविष्य प्रति गरिएको
 आत्मसम्मान र मानवताको
 शंखनाद पनि हो …
 आफु बेरिएको यो
 प्लास्टिक मात्र हैन
 म ,
 यस समाजमा व्याप्त
 भ्रमलाई पनि
 च्यातेर फाल्न चाहन्छु ..
 म हमेशा छोरी भएर नै जन्मन चाहन्छु
 जन्मिरहन चाहन्छु ..
 युगौं युग युगौं युग ….