
फिल्म क्षेत्र र कलाकारबारे पोखरामा बसेर समाचार लेख्दै आएका पत्रकार रेम बिक फिल्मी दुनियाँमा नायकको रूपमा डेब्यू गर्दैछन् । फिल्मीखबर डट कमका लागि पोखरा संवाददाताको साथमा बिग एफएम र आदर्श नेपाल दैनिकमा कार्यरत बिकले अभिनय गर्ने फिल्म भाईरसको बुधबारदेखि काठमाण्डौंमा छाँयाकन शुरु हुँदैछ ।
‘फिल्म क्षेत्रका गतिविधी र कलाकारको समाचार लेख्दै आएको छु, फिल्ममा खेल्न अफर आएकाले खुसी लागेको छ’, बिकले भने– ‘पत्रकारिता र फिल्मलाई संगै लैजाने सोँचमा छु ।’ आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेका बागलुङे ठिटोले अभिनय गर्ने फिल्म भाईरसको रामराजा दाहालले निर्देशन गर्दैछन् । दाहालले रेमका म्युजिक भिडियोहरु हेरेपछि आफ्नो फिल्ममा अनुबन्धित गरेको बताए ।
युवाले आफ्ना सपना पुरा गर्न गर्ने संघर्ष र सफल हुँदाका खुसी र असफल हुँदाका दुःखहरुलाई फरक तवरले फिल्ममा समेटिएको निर्देशक दाहालले बताए । फागुन महिनासम्म प्रदर्शनको लागि तयार गर्ने लक्ष्यका साथ छायाँकन शुरु हुन लागेको फिल्मलाई ड्रिम वर्क प्रालिको ब्यानरमा निर्देशक दाहालले नै निर्माण गर्न लागेका हुन् । उनले बसमा छैन यो मन, कसम हजुरको, तिमी मेरो म तिम्रो लगायतका फिल्मको निर्देशन गरिसेका छन् ।
सुशान्त प्रजापतिले खिच्ने फिल्ममा रेमका साथमा विल्सनविक्रम राई, मानव सुवेदी, आदित्य बुढाथोकीको साथमा नायिकाको रुपमा भने सोना तिमल्सिनाले डेब्यू गर्दैछिन् । अष्ट्रेलियामा रहेर म्यानेजमेन्ट विषय अध्ययन गर्दै आएकी तिमल्सिनाले मोडलिङ समेत गर्दै आएकी थिईन् । त्यसैगरी सेक्सी नायिकको रुपमा चिनिने नायिका शुष्मा कार्की पनि नायिकाको रुपमा रहेको निर्माण पक्षले जनाएको छ । सुवाससिंह बस्न्यातको लेखन रहने फिल्ममा संगीत मानव सुवेदीले दिएका छन् ।