
प्राचीन सहरको रूपमा चिनिएको भक्तपुरमा फिल्म महोत्सव आयोजना हुने भएको छ । भक्तपुरका युवा फिल्मकर्मीहरूले भक्तपुरको कला, संस्कृति र साहित्यलाई विश्वमा चिनाउन र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उदेश्यले महोत्सव गर्न लागेका हुन् । आगामी चैत ६ र ७ गते कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा हुने यो महोत्सवमा २४ वटा फिल्म देखाइनेछ ।
नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरू हुनेछ भने दोस्रो दिन शनिबार सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ देखाइँदैछ । यीसहित नेवा संस्कृतिमा आधारित ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ लगायतका फिल्महरू पनि प्रदर्शन गरिनेछ । महोत्सवमा सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेविका’ समापन फिल्म हुनेछ ।
महोत्सव सुरू हुने अघिल्लो दिन अर्थात् चैत ५ गते मास्टरक्लास समेत आयोजना गरिँदैछ । त्यसमा ‘११ः ५५’ फिल्मका निर्देशक केशव पाण्डेले कथा लेखनसम्बन्धी आफ्नो अनुभव बाँड्नेछन् । महोत्सवमा देखाइने फिल्म हेर्न र मास्टरक्लासमा सहभागी हुन दर्शकलाई कुनै शुल्क नलाग्ने महोत्सव निर्देशक किरण किलम्बूले बताए ।
किरणसहित सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव संयोजक स्मित गिरीका अनुसार नेपालका स्वतन्त्र फिल्मकर्मीका फिल्मलाई प्लेटफर्म दिन आवश्यक ठानेर यो महोत्सव सुरू गरिएको हो । दर्शकमा फिल्म साक्षरता बढाउनु पनि महोत्सवको उद्देश्य रहेको उनले बताए ।

