.jpg)
कुनै पनि कलाकारको करिअर दुईटा कुरामा निर्भर हुन्छ । या त फिल्म लगातार सफल हुनुपर्यो या अभिनयमा अब्बल हुनुपर्यो । यी दुवै चिज नभए करिअरमा अगाडि बढ्न चुनौती हुन्छ । हुन त अभिनयमा अब्बल हुँदाहुँदै पनि फिल्मको असफलताका कारण करिअरलाई नै विट मार्न बाध्य भएका धेरै कलाकार छन् । यसअर्थ फिल्मको सफलता कलाकारका लागि सबैभन्दा महत्त्वपूर्ण छ ।
तर, फिल्मको सफलता सहजै मिल्ने कुरा होइन । अभिनेत्री तथा मोडल गरिमा शर्माले जति यो कुरा अरु कसले बुझेको होला र ! टिकटकबाट उदाएर त्यसकै रापतापमा म्यूजिक भिडियोमा लोभलाग्दो करिअर बनाएकी उनले फिल्ममा भने लगातार असफलता भोगिरहेकी छन् । फ्लप फिल्ममा उनको ‘ह्याट्रिक’ पूरा भैसकेको छ । अभिनयमा पनि उनले आफ्नो प्रभाव छाड्न सकेकी छैनन् ।
फिल्ममा उनको डेब्यु ‘लण्डन टू पेरिस’बाट भएको थियो । यसमा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् । यो फिल्मबाट उनलाई ठूलो अपेक्षा थियो । तर, फिल्म नै कमजोर हुँदा बक्स अफिसमा नराम्रोसित डुब्यो । न त उनले अभिनयमा स्याबासी पाउन सकिन् । यसपछि सहायक भूमिकामै गरिमाले फिल्म ‘ह्रस्व–दीर्घ’ मा काम गरिन् । यसले पनि उनको असफलताको श्रृंखला रोक्न सकेन ।
लगातार फिल्म असफल भए पनि उनीप्रति मेकरहरुको विश्वास कायमै थियो । यसैले त तेस्रो फिल्म ‘जन्ते बाख्रो’मा मुख्य अभिनेत्री भएर काम गर्ने अवसर पाइन् । यसमा उनको जोडी बनेका थिए, सौगात मल्ल र आसिफ शाह । फिल्म चल्ने विश्वासमा उनी प्रचार-प्रसारमा खुब खटेकी थिइन् । तर, यसबाट पनि न सफलता मिल्यो न अभिनय रुचाइयो । यो उनका लागि ठूलो पीडा थियो ।
‘जन्ते बाख्रो’को असफलतापछि उनीबाट मेकरहरु तर्किन थालेका छन् । यसैले गरिमा पनि भिडियोमा फर्किएकी छन् । एकातिर लगातार फिल्म असफल हुनु र अर्कोतिर अभिनयमा निखारता नआउँदा त्यसले गरिमाको करिअरलाई ठूलो असर गरिरहेको छ । अब कम्तिमा उनले आफ्नो अभिनयमा सुधार ल्याउन आवश्यक छ । उनको सबैभन्दा ठूलो समस्या डाइलग डेलिभरीमा देखिन्छ ।

