लामो समयदेखि म्यूजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय रहेका रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो ।
ए.रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुने बताइएको छ । अशोक आर्यन, सुनिल थापा र सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा, सृष्टि खड्का लगायतको अभिनय रहेको फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरले पनि अभिनय गरेका छन् ।
एक्सन विधामा निर्माण भएको ‘कुम्भ’को छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । यसमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा सन्देश शाह र ध्रुवराज पराजुलीको सम्पादन रहेको छ । फिल्मलाई रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साहले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा भने ईश्वर बल्लभ उप्रेती रहेका छन् ।

