
नर प्रधान (मित्र)ले पहिलो पटक निर्देशन गरेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले नेपाली भाषा, कला, संस्कृति जोगाउनुपर्ने विषय उठाएका छन् । उनलाई यो विषयमा फिल्म बनाउने सोच नेपालबाट अमेरिका पुगेपछि आएको रहेछ। त्यसको कारण थियो, अमेरिकाको व्यस्त जीवनले गर्दा नेपाली संस्कार र संस्कृतिसँग दूरी बढ्नु।
उनी भन्छन्, ‘म राजनीतिक कारणले भुटानबाट नेपाल आएको थिएँ । मेरो पढाई, लेखाइ र हुर्काइ नेपालमै भयो । भुटानमा हुँदा गाउँ पूरै नेपाली थियो । संस्कार, संस्कृति सबै नेपाली नै मानिन्थ्यो । नेपाल आएपछि त्यो झनै गहिरो बन्यो । तर, अमेरिका पुगेपछि व्यस्तताले गर्दा त्यो सम्बन्धमा दूरी महसुस भयो । त्यसले ममा नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नुपर्ने भोक जागृत गरायो ।’
नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति र संस्कारबारे जानकारी नगराए यो धरोहर मासिने चिन्ताले ‘यो मन त मेरो नेपाली हो’ बनाएको निर्देशक प्रधानको भनाइ छ । भन्छन्, ‘विदेशमा रहे पनि, जति दुःख भोगे पनि, यो पक्ष जोगाउनुपर्छ । यदि यो मेटियो भने हाम्रा पूर्खाहरुको आत्माले शान्ति पाउँदैन र अबको पुस्ताले यसको मूल्य बुझ्न सक्दैन । यसैले हामीले यो फिल्म बनाएका हौं ।’
उनले ‘यो मन त मेरो नेपाली हो’लाई भाषा र संस्कृति जोगाउने अभियानको रुपमा लिएका छन् । ‘यो एउटा अभियान हो । नेपाल र संसारका विभिन्न ठाउँमा पुगेका नेपालीहरूको आस्था र विश्वासको धरोहर हो,’ उनी अगाडि भन्छन्, ‘हाम्रा पूर्खाहरूले संरक्षण गरेको भाषा, धर्म, संस्कार, संस्कृति, भेष-भुषा आदिलाई हामीले अबको पुस्तालाई सुम्पिनुपर्छ भन्ने सोचले यो फिल्म बनाएका हौं ।’
गत साता सार्वजनिक फिल्मको ट्रेलरमा भुटानी शासकबाट लखेटिएका भुटानीहरुको कथा पनि देख्न सकिन्छ । यसबारेमा निर्देशक प्रधान भन्छन्, ‘यो फिल्म भुटानी नेपालीबारे पनि हो, किनभने नेपालबाट भुटान, बर्मा लगायत विभिन्न ठाउँमा नेपालीहरू पुगेका थिए । यसले संसारभरका नेपालीहरूलाई समेट्ने प्रयास गरेको छ । यसमा भुटानी नेपालीको प्रसंग विशेष रूपमा उठाइएको छ ।’
उनले ‘यो मन त मेरो नेपाली हो’ व्यावसायिक उद्देश्यले नबनाएको पनि स्पष्ट पारेका छन् । उनका अनुसार सन्देश दिनका लागि यो फिल्म बनाइएको हो । ‘म फिल्मको माध्यमबाट सन्देश दिन चाहन्थेँ, त्यसैले यो विषय रोजेँ । व्यावसायिक हिसाबले मात्र हेरेको भए यो फिल्म बनाउँदिन थिएँ । विदेशमा भएपनि हाम्रो नेपाली मनले केही गर्नुपर्छ भन्ने सन्देश दिन यो फिल्म बनाएको हुँ,’ उनले भने ।

