रंगकर्मी तथा फिल्म निर्देशक अनुप बरालले अभिनय सिकाउने उद्देश्यले ‘एक्टर्स स्टुडियो’ सञ्चालन गरेको वर्षौं भैसकेको छ । त्यहाँबाट अभिनय सिकेका धेरै कलाकार अहिले नेपाली फिल्ममा स्थापित छन् । सोही स्टुडियोको पहिलो ब्याचकी विद्यार्थी तथा अभिनेत्री उषा रजकले भने अनुप बरालले राम्रो रोल र स्क्रिप्ट आउँदा अभिनेत्री दीया मास्के (श्रीमती)लाई अनुबन्धित गराउने गरेको आरोप लगाएकी छन् ।
उनले शुक्रबार फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘एक्टर्स स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म । १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुबन्धित गराउनुहुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन ।’
सन् २००६ मा बज्र होटेलमा ट्रेनिङ भएको बेला भुषण दाहाल (निर्देशक) आफ्नो पहिलो फिल्म ‘कागबेनी’को कास्टिङका लागि आउँदा अडिसनबाट आफू मुख्य पात्रमा छनोट भएर पनि रातारात अनुप बरालले दीया मास्केलाई अनुबन्ध गराएको उनको आरोप छ । आफूलाई फिल्मबाट हटाइएको जानकारी पाएपछि घरमा गएर धेरै रोएको स्मरण गर्दै उनले त्यसबेला आफूले गुरुको अर्कै रुप देखेको र जीवनको कालो पाटो देखेको बताएकी छन् ।
१७ वर्षसम्म यो कुरा सार्वजनिक गर्ने आँट गरेकोमा उनले आफूलाई कातरको संज्ञा दिँदै अगाडि लेखेकी छन्, ‘किन अहिले बोलेको त उषा ? त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ, अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त कातर नै हो ।’
एक शिक्षालय खोलेर विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा नातावाद र पक्षपात किन भनेर उनले प्रश्न गरेकी छन् । यसखालको कुरा एक्टर्स स्टुडियोका धेरै विद्यार्थीहरुले पछाडि-पछाडि भन्ने गरेको सुनेको भए पनि बिरालोको घाँटीमा घण्टी बाँध्ने आँट कसैसँग नभएको उषाको जिकिर छ । उनले एक्टर्स स्टुडियोलाई ‘दूषित ठाउँ’को समेत संज्ञा दिएकी छन् ।
‘अझै पनि धेरैजसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा । ठिकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल,’ उनले लेखेकी छन् । तर, उनले आफ्नो कसैप्रति रिस नभएको र अनुप बरालबाट धेरै राम्रो कुरा सिकेको पनि उल्लेख गरेकी छन् । त्यस्तै, उनले दीयालाई सक्षम अभिनेत्री भन्दै प्रशंसा गरेकी छन् ।
उषाको स्टाटस यस्तो समयमा आएको छ कि फिल्म ‘प्रकाश’ले राष्ट्रिय चलचित्र पुरस्कारमा जुरीले नाम सिफारिस गरेर पनि उत्कृष्ट फिल्मको अवार्ड नपाएपछि उत्पन्न विवाद उत्कर्षमा छ । अदालतमा रिट दायर समेत भैसकेको छ । यो फिल्ममा दीया मुख्य भूमिकामा छिन् । र, यसको काटिङ डाइरेक्टर अनुप बराल हुन् । यो फिल्ममा पनि अनुप बरालले जबर्जस्ती श्रीमतीलाई अनुबन्ध गराएको उषाको आशय हुनसक्छ ।