(1).jpg)
भदौ १२ गते राष्ट्रपति कार्यालयमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषणा नभएको विषयमा अदालतमा रिट निवेदन परेको छ । फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ बिहीबार दिउँसो उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेका हुन् ।
रिटमा जुरी कमिटीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । निवेदनमा छलफलका लागि शुक्रबार (भोलि) बिहान ११ बजे अदालतमा बोलाइएको जानकारी प्राप्त छ । फिल्म अवार्डमा उत्कृष्ट फिल्मको विधा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । तर, राष्ट्रिय अवार्डमा पहिलोपटक यही विधा गायब थियो ।
राष्ट्रिय अवार्डको जुरी टिमले ‘प्रकाश’को नाम उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी (माओवादी केन्द्र)लाई नकारात्मक रुपमा चित्रित गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै उत्कृष्ट फिल्मको विधा नै गायब बनाइएको चर्चा छ । तर, यस विषयमा न मन्त्रालय न बोर्डले नै आधिकारिक धारणा राखेको छ ।
प्रमुख विधामा नै अवार्ड वितरण नहुने भएपछि जुरी संयोजक राजेन्द्र सलभ कार्यक्रममै उपस्थित भएका थिएनन् । तर, अहिलेसम्म उनी यस विषयमा मौनता साँधेर बसेका छन् । जुरी सदस्य अनुप भट्टराई (फरक कोण)ले भने सामाजिक सञ्जालमा स्टाटस लेख्दै निर्णायक कमिटीले बुझाएको सर्वोत्कृष्ट फिल्मको निर्णयलाई चलचित्र विकास बोर्डले वितरण नगर्नुको कारणबारे प्रश्न गरेका थिए ।
‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा भने अवार्ड जितेको थियो । जुरी टिमले उत्कृष्ट फिल्ममा ‘प्रकाश’को नाम सिफारिस गरेर पनि अवार्ड वितरण नभएपछि अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग भेट गरेका थिए । उक्त भेटमा मन्त्री शर्माले खड्कालाई अवार्ड वितरणमा मन्त्रालयले कुनै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेकी थिइन् ।

