अवतार फिल्मले गरेको अकल्पनीय व्यापारले हलिउडमा थ्रिडी फिल्म निर्माणमा बाढी आएको छ । यस वर्ष मात्रै २२ वटा थ्रिडी फिल्म प्रदर्शन हुँदै छन् ।
हलिउडमा अचेल थ्रिडी फिल्म निर्माण गर्ने लहर चलेको छ । सात महिनाअघि प्रदर्शन भएको निर्देशक जेम्स क्यामरुनको थ्रिडी फिल्म अवतारको सफलताले गर्दा अन्य निर्माता पनि थ्रिडी फिल्म निर्माणमा आकषिर्त भएका छन् । हलिउडमा अवतारको प्रदर्शनपछि दुई दर्जन बढी संख्यामा थ्रिडी फिल्म निर्माण भइरहेका छन् ।
अवतार हलिउडको अहिलेसम्मको इतिहासमै सर्वाधिक व्यवसाय गर्न सफल फिल्ममा परेको छ । यस फिल्मले अहिलेसम्म २.७ अर्ब (२० खर्ब २५ अर्ब रुपैयाँ) डलर कमाइ गरिसकेको छ । यसै कारणले गर्दा हलिउडका निर्माता थ्रिडी फिल्म निर्माणमा आकषिर्त भएका छन् । फिल्म विशेषज्ञका अनुसार थ्रिडी फिल्म निर्माण अहिले शून्यबाट सुरु भएको छ । जसरी सय वर्षअघि पहिलोपटक अमुकबाट बोल्ने फिल्म बन्नेक्रम सुरु भयो, त्यसैगरी अहिले थ्रिडी फिल्म बन्न थालेका छन् । उनीहरूको अनुमानमा यस वर्ष मात्रै हलिउडमा करिब २२ थ्रिडी फिल्म प्रदर्शन हुनेछन् ।
अत्यधिक मात्रामा थ्रिडी फिल्म निर्माण हुन थालेपछि दर्शकमा आर्थिक भार पर्ने भएको छ । फिल्म हेर्नका लागि दर्शकले थप ७.५ डलर तिर्नुपर्छ । अचेल हलिउडको बक्स अफिसमा टिकट बिक्री घटेको छ । निर्मातालाई आफूले बनाएको थ्रिडी फिल्मबारे जति उत्साह छ, दर्शकमा त्यति उत्साह नभएको बताइन्छ । विश्लेषकका अनुसार अत्याधुनिक डिजिटल प्रविधि प्रयोग गरी निर्माण गरिने यस्ता काल्पनिक फिल्म मन नपराउने दर्शकको जमात पनि बाक्लै छ । जो सामान्य टिकट मूल्यमै फिल्म हेर्न चाहन्छन् ।
अहिले जुन मात्रामा थ्रिडी फिल्म निर्माणमा तीव्रता आएको छ, त्यो घातक हुने ठम्याइ उनीहरूको छ । अवतार प्रदर्शन भएपछि थ्रिडी प्रविधिमा बनेको फिल्म हेर्ने दर्शकको संख्या ७१ प्रतिशत थियो । तर, तीन महिनापछि प्रदर्शन भएको अर्के थ्रिडी फिल्म हाउ टु ट्रेन योर डे्रगन हेर्ने दर्शकको संख्या ६८ प्रतिशतमा सीमित भएको थियो । मेमा प्रदर्शन भएको स्रेक फरएभर आफ्टर हेर्ने दर्शकको संख्या ६१ प्रतिशतमा झरेको थियो । सोही महिनामा प्रदर्शन भएको अर्के थ्रिडी फिल्म द लास्ट एअरवाइन्डरले ५६ प्रतिशत दर्शक पाएको थियो । त्यसपछि प्रदर्शन भएको डिस्प्लेकेबल मी ४५ प्रतिशत दर्शकले हेरेका थिए ।
एक मिनेटको एक लाख डलर खर्च लाग्ने थ्रिडी फिल्म निर्माण निकै महँगो हुन्छ । त्यसकारण थ्रिडी फिल्मको टिकट दर पनि सामान्य फिल्मभन्दा केही महँगो राखिएको हुन्छ । फिल्म निर्माणमा धेरै समय नलागे पनि निर्माण लागत धेरै हुने भएकाले फिल्म फ्लप हुने सम्भावना अधिक हुन्छ । जसकारण अहिले बढी रहेको थ्रिडी फिल्म निर्माणको होडले हलिउडलाई आर्थिक रूपले धराशयी बनाउने विश्लेषण गरिएको छ ।