डब्बु क्षेत्री, काठमाण्डौ, २०६६ फाल्गुन १५, शनिवार
यतिबेला राजधानीका दर्शकमाझ फिल्म 'सम्झना' आएको छ । तर, यो पुरानो सम्झना हैन । नयाँ पुस्ताको निर्देशक योगेश घिमिरेले निर्देशन गरेको सम्झना हो यो । जुन, राजधानीका विश्वज्योतिसहित १८ओटा हलमा शुक्रबारबाट रिलिज भएको छ । अर्ढाई दशकअघि शम्भु प्रधानले फिल्म सम्झना बनाएका थिए । त्यही सम्झनाको 'रिमेक' होला योगेश घिमिरेको सम्झना पनि भन्ने अनुमान थियो धेरैको । तर, त्यो अनुमान गलत भएको छ । किनकि पुरानो सम्झनको 'रिमेक' हैन, नयाँ सम्झना ।
तथापि यी दुइ सम्झनामा केही समानता छ । पुरानो सम्झनामा अभिनेता भुवन केसीले प्रेमिका अर्थात् अभिनेत्री तृप्ति नाडकरलाई गुमाउँछन् । आफ्नी छोरीको मुख हेर्दै तृप्तिको सम्झनामा उनी बाँच्छन् । यता नयाँ सम्झनामा अभिनेत्री संचिता लुइँटेलले प्रेमी अर्थात् अभिनेता निखिल उप्रेतीलाई गुमाउँछिन् । संचिता भने छोराको मुख हेदै निखिलको सम्झनामा बाँच्छिन् । भुवन र तृप्तिको प्रेम र वियोगमा पुरानो सम्झना केन्द्रित थियो । तर, नयाँ सम्झना भने त्रिकोणात्मक प्रेम कथामा आधारित छ । प्रेम प्राप्तिभन्दा र्समर्पणमा अहिलेको सम्झना रुमलिएको छ ।

नयाँ सम्झनामा 'जून' बनेकी संचितालाई 'अर्जुन' बनेका निखिलले एकतर्फी प्रेम गर्छन् । तर, जून भने कृष्ण अर्थात् राजबल्लभ कोइरालाको एकतर्फी प्रेममा पिल्सिएकी हुन्छिन् । यो पिल्सने क्रम यतिमै टुँगिँदैन । छोटो समयको प्रेम पछि बिछोडीकी 'गरिमा' अर्थात् गरिमा पन्त भने प्रेमी 'राहुल' अर्थात् राजबल्लभ कोइरालाको वियोगमा तड्पिन्छिन् । राहुल पनि गरिमाकै प्रेममा पानीबिनाको माछा झैं छट्पाइरहेको सिनेमामा देख्न पाइन्छ । वियोगको प्रसंगलाई सुवास र प्रज्ञाको चरित्रले पछ्याउन छाडेको छैन । गरिमालाई एकतर्फी माया गर्ने सुवास अर्थात् अभिनेता सुवास मेचे पनि उनको वियोगमा जलेका हुन्छन् । आफूलाई पर्खाएर विदेसिएका प्रेमीको वियोगले प्रज्ञा त्यत्तिकै सुकिरहेकी हुन्छिन् ।
यसरी वियोग नै वियोगको सँगालो भनेको फिल्म सम्झना । यो सिनेमामा गरिमाबाहेक सबैले अन्त्यसम्म पनि प्रेम वियोगमै जल्नु पर्छ । सिनेमामा यति धेरै पात्रहरूको वियोगलाई समेटिए पनि सबै पात्रमाथि न्याय गरिएको छ । यो नै निर्देशकको सफलता हो । यसअघि फिल्म सपूतबाट निर्देशनमा हात हालेका हुन योगेशले । सपूतभन्दा उनले सम्झनमा आफ्नो निर्देशकीय क्षमतालाई निकै माझेका छन् । यसो भन्दैमा सिनेमा त्रुटि नभएको हैन । कतिपय दृश्यलाई समान संयोजनमा उनी चुकेका छन् । सिनेमामा अर्जुनले गाउँ छोडदाको दृश्य मात्र हैन । अन्य केही दृश्य पनि आवश्यकभन्दा निकै लामा छन् ।
राहुल र गरिमाको मिलनलगायतका केही दृश्य चाहिनेभन्दा साह्रै छोटा पनि नभएका हैनन् । यसरी दृश्यको सही संयोजन नहुँदा सिनेमाको आरोह -अवरोहमा केही ठाउँमा ठेस पुगेको छ । यस्ता केही उनको बाँकी काम राम्रो छ । अघिल्ला पुस्ताका कतिपय निर्देशकभन्दा योगेशले धेरै राम्रो काम यो सिनेमामार्फ देखाएका छन् । यो सिनेमाको सम्वाद पक्ष क्लिष्ट छ । सिनेमाका धेरै जसो दृश्यमा कवि तथा दर्शनिकले बोल्ने काव्यशैलीका भाषा सुन्न पाइन्छ । आमपात्रका लागि यस्ता भाषा सहज बनेको छैन । प्रदीप भारद्वाजको पटकथा र कथा पक्ष भने सम्वादको तुलनामा राम्रो छ ।
सम्झनको सशक्त पक्ष गीतसंगीत हो । महेश खड्काको संगीतले यसलाई सांगीतिक सिनेमा बनाएको छ । छायांकनमा पनि भीम रानाले मेहनत गरेका छन् । कलाकारलाई टोचनमा उडाउने नेपाली सिने उधोगको प्रचलनलाई तोड्दै 'फाइट'लाई केही हदसम्म वास्तविकता देखाउन द्वन्द्व निर्देशक र्सूयदेव सफल भएका छन् । अभिनय पक्ष निकै लामो समयपछि अभिनेता निखिल उप्रेतीले सम्झनामा राम्रो काम गरेका छन् । राजबल्लभ, संचिता, गरिमा, प्रज्ञा, हेमन्त बुढाथोकीको काम सन्तोष जनक छ । नवनायक सुवास मेचेको अभियन भने केही फित्तलो लाग्छ ।
|