फिल्मीखबर, काठमाण्डौ, २०६६ माघ २५, सोमवार
अभिनेत्री मनिषा कोइरालाले नेपालमा प्रशस्त चलचित्र बन्न लागेकोमा खुसी व्यक्त गरेपनि भारतीय चलचित्रको 'कपी' गरेर नेपाली चलचित्र नबनाउन नेपाली सिनेकर्मीहरूलाई सुझाव दिएकी छन् ।आज राजधानीमा दुई चलचित्र 'गर्ल' र 'जर्नी'को शुभमुहुर्त कार्यक्रममा बोल्दै नायिका कोईरालाले नेपाली चलचित्र निर्माणमा संख्यासँगै यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताईन् ।
२०४७ सालमा नेपाली चलचित्र 'फेरि भेटौंला' मा नायिकाको भूमिकासँगै आफ्नो अभिनय यात्रा शुरू गरेर सुभाष र्घइको चलचित्र 'सौदागर' मार्फत बलिउडमा प्रवेश गरेकी नायिका कोईरालाले पहिला जस्तै अहिले पनि ५०/६० लाख रुपैयाँको बजेटमा नेपाली चलचित्र बन्ने गरेकोमा आश्चार्य व्यक्त गरिन् । हाल राजधानीमा छायांकन भइरहेको नेपाली चलचित्र 'धर्मा' को छायांकनका लागि काठमाण्डौ आएकी नायिकाले मौलिक चलचित्र छ र आफूले चाहेजस्तो सशक्त रोल भएमा नेपालमा दिईने पारिश्रमिकमा नै नेपाली चलचित्रमा अभिनय गर्ने बताईन् ।
दीपेन्द्र के खनालको निर्देशनमा छायाँकन भईरहेको चलचित्र 'धर्मा' मा नायिका कोईराला नायक राजेश हमालको श्रीमतीको रूपमा अभिनय गरेको उनले पत्रकारहरूलाई जानकारी गराईन् । आफ्नो 'ड्रिम प्रोजेक्ट' को रूपमा नेपाली चलचित्र बनाउने योजना रहेको उनले कार्यक्रममा बताईन् । तर आफूले नै चलचित्र निर्माण गर्न अझ केही बर्ष लाग्ने उनको भनाई छ ।
|