एजेन्सी, २०६६ माघ २३, शनिवार
ओस्कार एवार्ड विजेता नायिका केट विन्सलेटले एउटा चलचित्रमा बिनापारिश्रमिक काम गर्ने घोषणा गरेकी छिन् । नयाँ चलचित्र 'द सनसाइन ब्वाइ' मा केटले सित्तैंमा काम गर्ने भएकी हुन् । यो चलचित्रमा केटले आफ्नो आवाजमात्र प्रदान गर्नेछिन् ।
केही समयअघि चलचित्रका निर्देशकले केटलाई उक्त चलचित्रका केही फुटेज देखाएका थिए । त्यसपछि मात्र केटले चलचित्रमा आफ्नो आवाज दिने निर्णय गरेकी हुन् । ओर्टिजमबाट पीडित छोराको पालन-पोषणका क्रममा एउटी आमाको संघर्ष चित्रण गरिएको उक्त चलचित्रको फुटेज हेरेपछि केटको आँखा आँसुले भरिएका थिए । केटले उक्त फुटेज आफ्नी छोरी मियासँग बसेर हेरेकी थिइन् । 'द रिडर' का लागि ओस्कार तथा गोल्डन ग्लोब पुरस्कार विजेता केट पछिल्लो केही समययता चर्चाभन्दा बाहिर छिन् । 'म केही समयका लागि हराएकी थिएँ, केट भन्छिन्— 'घरायसी काममा व्यस्त थिएँ तर अब पुनः चलचित्रकै संसारमा व्यस्त हुनेछु ।' |