मिति : २०७३ चैत्र १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

हामी कहाँ चुक्यौ ?

फिल्मीखबर, काठमाडौं, २०७१ चैत्र ३०, सोमवार

हरेक बर्षलाई भित्तामा झुण्डिएको क्यालेन्डरलाई फेर्दै गर्दा हामी व्यक्तिगत, समाज, देश अनि विश्वको समिक्षा गर्छौ । कहिलेकाहीँ क्यालेण्डरसँगै मानिसको जीवन पनि फेरिन्छ ।  तर, विगत केही बर्षदेखिको आँकडा हेर्ने हो भने नेपाली फिल्मका लागि क्यालेन्डर फेरिनु बाहेक अरु केही पनि देखिएको छैन । बर्षभरिको क्यालेन्डर पल्ट्याउदै हेर्ने हो भने नेपाली फिल्म क्षेत्रले केही पनि उपलब्धि हासिल गर्न सकेको छैन । आखिर, किन त ? साँच्चै हामी चुकेका नै हौ त ?

 


नयाँ बर्ष लागेसँगै आशाका किरणहरु छरपष्ट हुन्छन् । नयाँ बर्षसँगै नयाँ आशा बोकेर कैयौ फिल्मको घोषणा गरिन्छ, शुभकामना थापिन्छ । तर, त्यही बर्ष त्यो फिल्म प्रदर्शनमा आएको अत्तोपत्तो नै हुँदैन । साच्चै हामी कहाँ चुक्यौ ?बलिउड फोबियाले गाजेको नेपाली फिल्म बजारमा हामी सधै नै एउटा न एउटा बहाना बनाएर दोष अरु माथि थोपर्छौ । फिल्म नराम्रो बने निर्देशकको गल्ती, राम्रो बने सबै मैले गर्दा भएको हो भन्ने प्रथा हामीले बोकेका छौ ।

 


यो बर्ष आँकडाका हिसाबले करिब ८३ वटा फिल्म प्रदर्शनमा आएका छन् । बलिउड फिल्मलाई हेर्ने हो भने त यो संख्या १३० को हारहारीमा पुग्छ । अझ, यसैबर्षदेखि त बलिउडसँगै दक्षिण भारतीय  फिल्मको व्यापार पनि नेपालमा सुरु भैसकेको छ । ८३ वटा फिल्म चल्दा हामीले हातमा सेकेण्डमै गन्न सक्ने उपलब्धि पाएका छौ । यसैले पाएका कम छौ, गुमाएका धेरै छौ । नेपाली फिल्म यसरी हरेक बर्ष चुक्नुको पछाडि  गल्ती एकको मात्र छैन । नेपाली फिल्मसँग जोडिएर आफ्नो दैनिकी चलाउँदै आएका सबैजसो यो सूचिमा अटेका छन् । फिल्म चल्दा म हिट नचल्दा निर्देशक र निर्माताले गर्दा भनेर पन्छिने बाटो कलाकारले छोड्न जरुरी छ ।

 


यो बर्ष हिट भएका फिल्मको सूची हेर्ने हो भने भनिदै आएको फरक धारले हावा खाएको छ । फरक धारका फिल्म सबैजसो असफल हुँदा मुलधारकै फिल्म सफल भएका छन् । दर्शक दिमाग खियाउने होइन, हेरुन्जेल रमाइलो दिने फिल्म हेर्न चाहन्छन् भन्ने पुष्टि भएको छ ।नेपाली फिल्म क्षेत्र एउटा ल्याब जस्तो भएको छ । जहाँ जानेका, नजानेका, सिक्दै गरेका आफ्नो सिप परिक्षणका लागि आउँछन् । सबै खालका मानिसको परिक्षण गर्ने केन्द्र बन्दा नेपाली फिल्म हावाहुरी आएको समय जस्तो बनेको छ । जहाँ, धुलो, फोहोरमैला, राम्रा नराम्रा सबै कुरा उडिरहेका हुन्छन् । यी हुन्डरीबाट नेपाली फिल्मलाई नजोगाएसम्म हामी कहाँ चुक्यौ भनेर समिक्षा मात्र भइरहन्छ । हामी यसकारण सफल भयौ भनेर खुशी साट्ने दिन सायदै आउँला ।

 


कथावस्तु, प्रस्तुति, प्रचार र ब्रान्ड बनाउने कुरामा नेपाली फिल्म यो बर्ष पनि पछि पर्यो । आफूलाई अब्बल निर्देशक बनाउनका लागि स्तरियता होइन, संख्यालाई आधार मान्ने चलन बढ्यो । म यति वटा फिल्म खेलेको कलाकार, म यति वटा फिल्म बनाएको निर्देशक ? स्तरियता मापन गर्नका लागि फिल्मीकर्मीले यस्तो तरिका अपनाए । जसका कारण, स्तरिय भन्दा संख्या हाबी भयो ।यो बर्ष नेपाली फिल्मका लागि सुखद नबनेको पक्कै हो । तर, यही बर्ष मात्र होइन हाम्रा लागि सुखद नबनेको । यस्ता बर्ष हामीले कैयौ पार गरिसकेका छौ । आफ्नो फिल्म औषत चल्दा फेसबुकमा रमाउने हामी अरुको फिल्म नचल्दा दुखी होइन खुच्चिम भनिरहेका छौ । सायद, हामी चुक्नुको सबैभन्दा ठूलो कारण यही नै हो  ।